कोरोना कहरः सुदूरपश्चिममा सोमबार थप १६ जना संक्रमितको मृत्यु

थप ६१० जनामा कोरोना पुस्टि,१५० जना कोरोना मुक्त
सुदूर प्रेस संवाददाता

धनगढी–कोरोना संक्रमणबाट सुदूरपश्चिम प्रदेशमा सोमबार १६ जनाको मृत्यु भएको छ।


कैलालीका ६ जना, कञ्चनपुरका ६,  बझाङका २ जना, डडेल्धुरा र अछामका १।१ जनाको मृत्यु भएको सुदूपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

यस्तै पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशमा १ हजार ३८५ जनाको नमूना पीसीआर तथा ६२४ नमूना ऐन्टिजेन विधिबाट परीक्षण भएका छन्। 

दुवै विधिबाट कूल २ हजार ९ नमूना परीक्षण गर्दा ६१० जनाको रिपोर्ट पोजेटिभ आएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ। 

पीसीआर विधिबाट परीक्षण गर्दा ४९१ जना संक्रमित भेटिएका छन् भने, ऐन्टिजेन विधिबाट परीक्षण गर्दा ११९ जनामा संक्रमण पुस्टि भएको छ। 

सेती प्रादेशिक अस्पतालमा  ६ जना संक्रमितको मृत्यु

सेती प्रादेशिक अस्पतालमा उपचाररत थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कैलालीका ४ र कञ्चनपुरका २ जनाको उपचारका क्रममा मृत्यु भएको प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।


कैलालीको गोदावरी नगरपालिका–५ की ६० वर्षीया महिला, कैलारी गाउँपालिका– ६की ५० वर्षीया महिला, वडा नम्बर ७ का ३५ वर्षीय पुरुष र वडा नम्बर ८ की ६० वर्षीया महिलाको मृत्यु भएको श्रेष्ठले बताए ।

कञ्चनपुरको कृष्णपुर नगरपालिका– का ४४ वर्षीय पुरुष र बेलौरी नगरपालिका–१ का ४४ वर्षकै पुरुषको मृत्यु भएको उनले बताए ।

यस्तै पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा २ सय ७३ जना संक्रमित थपिएका छन् । ७ सय ५२ जनाको परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

प्रकाशित:
2021/05/24, 8:13