भेरी अस्पतालका चिकित्सकमाथि आक्रमण गर्नेविरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा

सहमतिपछि स्वास्थ्यकर्मी काममा फर्किए
Corona Update
सुदूर प्रेस संवाददाता

बाँके–बाँकेस्थित भेरी अस्पतालका चिकित्सकमाथि आक्रमण गर्नेविरुद्ध प्रहरीले ज्यान मार्ने उद्योग गरेको कसुरमा मुद्दा चलाएको छ । बिहीबार राति कोभिड–१९ संक्रमितको मृत्यु भएपछि आफन्तले कोभिड वार्डमा छिरेर डाक्टर र नर्सलाई आक्रमण गरेका थिए । आक्रमणमा संलग्न दाङको तुलसीपुर घर भएका मानबहादुर रावत, भरत रावत र लोकराज रावतलाई प्रहरीले पक्राउ गरेको छ ।
आरोपीहरु बिरुद्ध ‘ज्यान मार्ने उद्योग’ र ‘आपराधिक उपद्रव’ गरेको कसुरमा मुद्दा दर्ता गरेर अनुसन्धान शुरु गरिएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयका डीआईजी रवीन्द्र धानुकले रातोपाटीलाई बताए । उनले भने–‘आक्रमणको नेतृत्व मानबहादुर रावतले गरेको देखिन्छ, बाँके प्रहरीले त्यसबारे थप अनुसन्धान गरिरहेको छ ।’ प्रहरीले उनीहरुको पुरानो आपराधिक तथ्यांक पनि खोजिरहेको छ ।
​मृतक ५२ वर्षका पुरुष हुन् । मृतकका भाइ मानबहादुर नेतृत्वको समूह आक्रमणमा उत्रिएपछि चिकित्सक र नर्सले एकतला माथिबाट हामफालेर ज्यान बचाएका थिए । आक्रमणमा संलग्नहरु दाङका तुलसीपुर उपमहानगरपालिका–११ उरहरीका हुन् ।

घटना छानविनका लागी स्थानिय प्रशासनले बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टको नेतृत्वमा छानविन समिती गठन गरेको छ । समितिमा ७ जना सदस्य छन् । समितीले ३ दिनभित्र घटनाको सत्यतथ्य पत्ता लगाएर प्रतिवेदन दिनेगरी काम शुरु गरिसकेको छ ।

स्वास्थ्यकर्मी काममा फर्किए

बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल र लुम्बिनी प्रदेशका डीआईजी रवीन्द्र धानुकले सुरक्षाको ‘ग्यारेन्टी’ गरेपछि चिकित्सक र नर्सहरु काममा फर्किएका छन् । सुरक्षाका लागी प्रहरी निरीक्षकको कमाण्डमा अस्पतालमा २५ जनाको टिम परिचालन गरिएको डीआईजी धानुकले रातोपाटीलाई बताए ।

‘चिकित्सक र नर्सलाई सुरक्षाको प्रत्याभूति गराएका छौँ,’ डीआईजी धानुकले भने, ‘उहाँहरुमाथि हुने सवै थ्रेट व्यवस्थापन गर्छौँ ।’ आक्रमण गर्नेलाई कडा कारवाही गर्ने आश्वासनपछि स्वास्थ्यकर्मीले काम शुरु गरेका छन् ।

प्रकाशित:
2021/05/29, 6:19