सरकारले ल्यायो १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट

ज्येष्ठ नागरिक भत्ता ४ हजार पुग्यो,सरकारी कर्मचारीको तलबमा मासिक २ हजारले वृद्धि
सुदूर प्रेस संवाददाता

काठमाडौँ– सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट घोषणा गरेको छ। कुल विनियोजनमध्ये संघले खर्च गर्ने चालुतर्फ रु ६ खर्ब ७८ अर्ब ६१ करोड रहेको छ भने पुँजीगततर्फ ३ खर्ब ४७ अर्ब २६ करोड रहेको छ।  


यस्तै वित्तीय व्यवस्थातर्फ रु २ खर्ब ७ अर्ब ९७ करोड विनियोजन गरिएको छ । प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ रु ३ खर्ब ८६ अर्ब ७१ करोड विनियोजन गरिएको अर्थमन्त्री विष्णुप्रसाद पाैडेलले जानकारी दिए । 


आगामी आर्थिक वर्षका लागि अनुमानित खर्च व्यहोर्ने स्रोत व्यवस्थापनका लागि सरकारले राजस्वबाट १० खर्ब २४ अर्ब ९० करोड र ६३ अर्ब ३७ करोड वैदेशिक अनुदान व्यहोर्ने र त्यसबाट समेत अपुग ५ खर्ब ५९ अर्ब ३० न्यून हुने देखिने त्यसमा थप ३ खर्ब ९ अर्ब २९ करोड ऋण लिने सरकारले योजना बनाएको छ । 


राजस्व परिचालन र वैदेशिक अनुदान तथा ऋण सहायता परिचालन गदा पनि नपुग हुने २ खर्ब ५० अर्ब आन्तरिक ऋणबाट व्यहोर्ने पौडेलले बजेट भाषणका क्रममा बताए ।

सरकारी कर्मचारीको तलबमा मासिक २ हजारले वृद्धि

सरकारले सरकारी कर्मचारीको तलबमा वृद्धि गरेको छ । २०७८ साउन १ गतेदेखि लागू हुनेगरी सरकारी कर्मचारीको तलब मासिक २ हजार रुपैयाँले वृद्धि गरिएको अर्थमन्त्री विष्णु पौडेलले बताएका छन् ।

सरकारले ज्येष्ठ नागरिक भत्ता वृद्धि गरेको छ । आर्थिक वर्ष २०७८/७९को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले ज्येष्ठ नागरिक भत्ता ४ हजार पुर्‍याएका हुन् ।

ज्येष्ठ नागरिक भत्ता ४ हजार पुग्यो


हाल सरकारले ज्येष्ठ नागरिक भत्ता ३ हजार रुपैयाँ दिँदै आएको छ । सरकारले दिँदै आएको सामाजिक सुरक्षा भत्तामा ३३ प्रतिशतले वृद्धि गरिएको अर्थमन्त्री पौडेलले बताए ।

यस्तै, जेष्ठ नागरिकका लागि नि:शुल्क औषधि उपचारको व्यवस्था गरिने मन्त्री पौडेलले बताए ।

 

प्रकाशित:
2021/05/29, 7:43