प्रतिनिधि सभा विघटनलगायत रिटमा आज पनि सर्वोच्चमा सुनुवाइ

adalat
सुदूर प्रेस संवाददाता

काठमाडौँ– प्रतिनिधि सभा विघटनलगायतबारे परेका रिटमा आज पनि संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहित पाँच जनाको संवैधानिक इजलासले मंगलबार पनि सुनुवाइ गर्न लागेका हुन्।

संवैधानिक इजलासका न्यायाधीशबारे प्रश्न उठिरहेका बेला सुनुवाइलाई जारी राखिने भएको छ।

न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठलाई संवैधानिक इजलासमा राख्न नहुने मत उठिरहेको छ।

तर सोमबार केसी र श्रेष्ठले आफूहरू इजलासबाट नबाहिरिने बताएका थिए।

संवैधानिक इजलासको रोष्टरमा प्रधानन्यायाधीश राणा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिल सिन्हा, प्रकाशसिंह राउत, सपनाप्रधान मल्ल, तेजबहादुर केसी, बमकुमार श्रेष्ठ र टंकबहादुर मोक्तान छन्। 

केसी र श्रेष्ठबारे इजलासमा प्रश्न उठेपछि आइतबार प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराले संवैधानिक इजलासका पाँच जना न्यायाधीशको छलफल राखेका थिए।

उक्त छलफलमा न्यायाधीश दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले प्रश्न उठेपछि दुई जना न्यायाधीश इजलासबाट बाहिरिनु नै उपयुक्त हुने सुझाएका थिए।


प्रधानन्यायाधीश राणाले भने केसी र श्रेष्ठलाई आफैं निर्णय गर्न दिनुपर्ने मत राखेका थिए।

विघटन बदर गरेर आफूलाई प्रधानमन्त्री बनाउन माग गर्दै रिट दिएका शेरबहादुर देउवाका वकिलहरूले उनीहरूले मुद्दा हेर्न नमिल्ने भनेर प्रश्न उठाएका थिए।

न्यायाधीश श्रेष्ठले नेकपा फुटाउने फैसला गरेको र न्यायाधीश केसीले उक्त फैसला पुनरावलोकन गर्न अस्वीकार गरेका कारण दुवैको स्वार्थ बाझिने प्रश्न उठाएका थिए।

दुई न्यायाधीशबारे आफू संवैधानिक इजलासमा बस्ने कि नबस्ने आज निर्णय गर्नेछन्।

प्रकाशित:
2021/06/01, 8:12