डोटीमा पहिरोमा पुरिएर एक जनाको मृत्यु, दुई घाइते

Death
सुदूर प्रेस संवाददाता

डोटी — पहिरोमा परिएर डोटीको केआईसिंह गाउँपालिका–३ मा बुधबार बिहान एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । ६० वर्षीय खडकबहादुर बमको घटनास्थलमै मृत्यु भएको हो । १६ वर्षीया पुनी कुँवर र १७ वर्षीया पुजा कुँवर घाइते भएका छन् ।

पुनीको हात भाँचिएको छ भने पुजाको टाउकोमा चोट लागेको वायल प्रहरी चौकीका इन्चार्ज खगेन्द्र भण्डारीले जानकारी दिए । पुनीलाई स्थानीयले उद्धार गरी उपचारका लागि दिपायल ल्याएका छन् । पुजाको वायल स्वास्थ्य चौकीमा प्राथमिक उपचार भइरहेको छ ।

लगातारको वर्षाले खानेपानी अवरुद्ध भएपछि स्थानीय रिखडा खोला पारी खानेपानी पाइप जोड्न जाँदा माथिबाट खसेको पहिरोले उनीहरुलाई च्यापेको थियो । अविरल वर्षाले डोटीका ग्रामिण सडकहरु अवरुद्ध हुनुका साथै खानेपानी, सिचाइँ कुलोसमेत भत्केका छन् ।

केआईसिंह गाउँपालिकामा मंगलबारबाट पहिरोले पोल ढली विद्युतसमेत अवरुद्ध रहेको केआईसिंह गाउँपालिका अध्यक्ष लोकेन्द्र बहादुर शाहीले बताए । जिल्ला प्रहरी कार्यालय डोटीकाअनुसार राजपुर–वायल, सायल गाउँपालिका वडा नम्बर ५ पालीबनको सडक अवरुद्ध छ । त्यसगरी सिलगढीको टुँडीखेल मैदानको पर्खाल भत्कँदा बजारको मूल सडक अवरुद्ध भएको छ । गतवर्ष पनि सोही स्थानमा पर्खाल भत्केको थियो । पुर्वीचौकी गाउँपालिका वडा नं. ४ को अवरुद्ध सडक भने सुचारु भएको छ ।

लगातारको वर्षाले जोरायल गाउँपालिका वडा नं. १ तोली गाउँका ६५ परिवारका किसानले व्यवसायिक रुपमा सुरु गरेको आलु खेतीमा क्षति गरेको छ । किसानले खेतमा खनिसकेको ५५ क्वीन्टल आलु बारीमै कुहिने अवस्था भएको छ । सडक अवरुद्ध हुँदा किसानले बोकेर मुल सडकमा लैजान नसक्दा कुहिने अवस्था आएको पीडित किसानको दुखेसो छ ।

प्रकाशित:
2021/06/17, 6:39