सुदूरपश्चिमका मुख्यमन्त्री र प्रचण्डबीच प्रदेश सरकारबारे छलफल

cm pk
सुदूर प्रेस संवाददाता

धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्‍यमन्त्री त्रिलोचन भट्ट र माओवादी केन्द्रका अध्यक्ष  पुष्पकमल दाहाल 'प्रचण्ड' बीच भेटवार्ता भएको छ। बुधबार काठमाडौंमा भएको भेटवार्तामा सुदूरपश्चिम प्रदेशमा प्रतिपक्षी दलको भूमिकामा रहेका नेपाली कांग्रेस र जनता समाजवादी पार्टीलाई सरकारमा ल्याउने विषयमा छलफल भएको बताइएको छ।

मुख्यमन्त्री भट्टसहित सुदूरपश्चिमका माओवादी नेता खगराज भट्ट, तारामान स्वार, लक्ष्मी जोशी लगायतको टोलीले प्रचण्डलाई भेटेका हुन्। भेटको क्रममा पार्टीको राजनीतिक अवस्था र सुदूरपश्चिम सरकारमा सत्ता सहकार्यबारे छलफल भएको भेटमा सहभागी एक नेताले बताए।

केपी शर्मा ओली नेतृत्वको सरकारको बर्हिगमनपछि सुदूरपश्चिम प्रदेशमा समेत केन्द्रकै सत्ता गठनबन्धनलाई निरन्तरता दिने गरी दुवै पार्टीलाई सरकारमा ल्याउन नेताहरुले परामर्श थालेका हुन्।

कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधव समूह, जनता समाजवादी पार्टीको समर्थनमा शेरबहादुर देउवा प्रधानमन्त्री भएसँगै सुदूरपश्चिमका मुख्यमन्त्री, मन्त्री र पार्टीका अन्य नेता काठमाडौं पुगेका हुन्।

मुख्यमन्त्री त्रिलोचन भट्ट केही दिनदेखि काठमाडौंमै रहेका बेला मंगलबार आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी, भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी र सामाजिक विकास मन्त्री लालबहादुर खड्का पनि काठमाडौं पुगेका छन्। कृषि मन्त्री विनिता चौधरी पनि केही दिनदेखि काठमाडौंमै छिन्।

उनीहरूसँगै केही सांसद पनि काठमाडौं पुगेका छन्। उद्योग पर्यटन वन तथा वातावरण मन्त्री मानबहादुर धामीबाहेक प्रदेशका सबै मन्त्री र नेपाली कांगेसका सांसदहरु काठमाडौं गएर विशेष भेटघाट गर्नुलाई  चासोका रुपमा हेरिएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावलले संघीय सरकारमा जस्तै प्रदेशमा पनि कांग्रेस, माओवादी र जसपाबीच सत्ता सहकार्य गर्ने विषयमा छलफल भइरहेको जानकारी दिए।

केन्द्रमा बनेको गठबन्धनअनुसार प्रदेशमा पनि सरकार बनाउनका लागि कसरत सुरु भएका बेला सोहीअनुरूप प्रदेशमा सत्ता सहकार्य गर्नेबारे छलफल भएको बताइएको छ। 

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा अहिले ५२ सदस्य छ। तत्कालीन आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले माओवादी परित्याग गरेपछि पार्टीको सिफारिसमा पदमुक्त भएपछि प्रदेशसभामा ५२ जना सांसद छन्।

उनीहरूमध्ये नेकपा एमालेका २५, माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १२ र जनता समाजवादी पार्टीका दुई जना प्रदेशसभा सदस्य छन्। एमालेभित्र माधव समूहमा १७ जना र ओली समूहमा ७ जना सांसद छन्।

प्रकाशित:
2021/07/22, 7:57