कांग्रेस क्रियाशील सदस्यता विवाद : छानबिन समितिले देउवालाई बुझायो प्रतिवेदन

थपिए ४ लाख ४३ हजार ६ सय ७८ सदस्य, ४ लाख ९ हजार ३३ जनाको सदस्यता नवीकरण
congress
सुदूर प्रेस संवाददाता

काठमाडौँ — नेपाली कांग्रेसले १४औं महाधिवेशनका लागि देशभर ८ लाख ५२ हजार ७ सय ११ जनालाई क्रियाशील सदस्यता वितरण गरेको छ । उक्त संख्यामा नेपाली जनसम्पर्क समिति भने गणना गरिएको छैन ।

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई मंगलबार पार्टीको क्रियाशील सदस्यता छानबिन समितिका प्रतिनिधिबाट 
कांग्रेसको क्रियाशील सदस्यतासम्बन्धी विवादबारे छानबिनका लागि गठन गरिएको समितिले क्रियाशील सदस्यतासम्बन्धी विवादबारेको प्रतिवेदन मंगलबार सभापति शेरबहादुर देउवालाई बुझाएको हो । रमेश लेखकको संयोजकत्वमा गठन भएको उक्त छानबिन समितिको प्रतिवेदनअनुसार ४ लाख ९ हजार ३३ जनाको क्रियाशील सदस्यता नवीकरण गरिएको छ । त्यस्तै ४ लाख ४३ हजार ६ सय ७८ जनालाई नयाँ क्रियाशील सदस्यता वितरण गरिएको छ । त्यस्तै लिंगका आधारमा हेर्दा ६ लाख ५३ हजार ४ सय ३८ जना पुरुष(७४.२६ प्रतिशत) र १ लाख ९९ हजार ९७ जना(२२.६२ प्रतिशत) महिलालाई क्रियाशील सदस्यता वितरण गरिएको छ ।


समितिका सदस्य कल्याण गुरुङले भने प्रतिवेदनका केही बुँदामा फरक मत राखेको बताइएको छ । नवीकरणतर्फ ७७ वटै जिल्लाका क्रियाशील सदस्यताको टुंगो लगाइएको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै नयाँ क्रियाशील सदस्यता सम्बन्धमा केही स्थानहरुमा समितिले निर्णय गरी स्थगन गरेको र केही स्थानका बारेमा समितिले निर्णय गर्न सकेको छैन । समितिले निर्णय गर्न नसकेको स्थानमा आवश्यक निर्णयका लागि नेताहरुको तहमा प्रस्तुत गरिएको प्रतिवेदनमा जनाइएको छ ।

धनुषा जिल्लाको क्षेत्र नम्बर ४, सर्लाहीको क्षेत्र नम्बर २, बारा र सप्तरीको नयाँ क्रियाशील सदस्यताबारे नेताहरुबाट नै आवश्यक निर्णयका लागि अनुरोध गरिएको छ । त्यस्तै १३औं महाधिवेशनमा क्रियाशील सदस्यता छानबिन समितिबाट सोलुखुम्बु जिल्लाको ५१५ जना र बारा जिल्लाको १६६ फारमका बारेमा समितिमा सहमति कायम हुन नसकेका कारण निर्णयका लागि नेतृत्वसमक्ष पठाइएको छ ।

कांग्रेसको क्रियाशील सदस्यतासम्बन्धी विवादबारे छानबिन गर्न केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा आनन्द्रप्रसाद ढुंगाना, प्रदीप पौडेल, जीवन परियार, कल्याणकुमार गुरुङ, श्यामकुमार घिमिरे, योगेन्द्र चौधरी सदस्य रहेको समिति गठन गरिएको थियो ।

प्रकाशित:
2021/07/27, 4:40