नारायणगढ–मुग्लिन सडक फेरि बन्द,यात्रुको बिचल्ली

सुदूर प्रेस संवाददाता

काठमाण्डौ – नारायणगढ–मुग्लिन सडक फेरि बन्द भएको छ । तुइनखोला पुल नजिकै र नाम्सीमा गएको पहिरो हिजो दिनभर लगाएर पञ्छाएपछि बेलुका सडक खुलेको थियो ।

तर राति ११ बजेदेखि तुइन खोला पुल नजिकै पहिरो झरेपछि सडक फेरि बन्द भएको हो ।

पहिरो पन्छाउने तयारी भइरहे पनि सडक कतिबेला खुल्छ भन्ने टुंगो नरहेको ट्राफिक प्रहरीले जनाएको छ ।

सडकमा गाडीको लामो लाइन रहेको छ । सडक खुलेको यकिन नभइ यात्रा शुरु नगर्न पनि प्रहरीको आग्रह छ ।

संघीय राजधानी काठमाण्डौको लाइफ लाइन मानिएको नारायणगढ–मुग्लिन सडकको यात्रा पहिरोका कारण कष्टकर र अनिश्चित बनेको छ । ठाउँ ठाउँमा बारम्बार पहिलो झर्दा सडक बन्द हुने र खुल्ने कुनै टुंगो हुन छाडेको छ । 

पहिरो पञ्छाएर केही बेरमा सडक खुलाए पनि केहीबेरमै बन्द हुँदा यात्रु र चालक हैरान हुँदै आएका छन् । गएको बिहीवार यता यो सडक मुश्किलले १५ घण्टा मात्रै सञ्चालनमा आएको छ । 

केही वर्ष जोखिम घटेको नारायणगढ–मुग्लिन सडकमा पछिल्लो समय समस्या बढेको छ ।

यसअघि पहिरो रोकथामको कामपछि झण्डै ३० ठाउँको पहिरो नियन्त्रण भएको भए पनि पछिल्ला वर्ष नयाँ ठाउँमा पहिरो देखिएको र तीमध्ये केही निकै जटिल रहेका सडक डिभिजन कार्यालय, भरतपुरले जनाएको छ ।

अहिले समस्या ल्याइरहेको तुइनखोला नजिकको पहिरो नयाँ हो र यसले धेरै दुःख दिन थालेको छ । 

प्रकाशित:
2023/07/02, 6:28