भारतीय नागरिक भएको आरोपमा उपप्रमुख पक्राउ

सुदूर प्रेस संवाददाता

सप्तरी–नागरिकता विवादमा मुछिएकी सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपप्रमुख मीराकुमारी यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

भारतीय नागरिक रहेको र फर्जी कागजातको आधारमा नेपाली नागरिकता बनाएको उजुरी परेपछि प्रहरीले यादवलाई नियन्त्रणमा लिएको हो ।

आफूविरुद्ध मुद्दा दर्ता भएपछि उपप्रमुख यादव आफैँ बुधबार साँझ जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएकी थिइन् । उनी र उनका श्रीमान महेन्द्रकुमार यादवविरुद्ध नागरिकता सम्बन्धी कसुरमा मुद्दा परेको छ ।

स्थानीय एक व्यक्तिले चार महिनाअघि जिल्ला प्रशासन कार्यालयमा उपप्रमुख यादव र उनका श्रीमान् महेन्द्रकुमार यादव भारतीय नागरिक रहेको भन्दै उजुरी दिएका थिए । तर प्रशासनले उक्त मुद्दा दर्ता गर्न नमानेपछि उनी उच्च अदालत जनकपुर पुगेका थिए । उच्च अदालतको राजविराज इजलाससमक्ष माग गरिएको परमादेश अनुसार अदालतले गत जेठ ५ गते प्रहरी र प्रशासन कार्यालयको नाममा मुद्दा दर्ता गर्न परमादेश जारी गरेको थियो । सोही आधारमा तीन दिनअघि मात्रै जिल्ला प्रहरी कार्यालय सप्तरीले मुद्दा दर्ता गरी अदालतबाट पक्राउ पुर्जी लिएपछि उपप्रमुख यादव आफैँ उपस्थित भएकी हुन्। यादवले आफू भारतीय नभई नेपाली नागरिक भएको र आफूमाथि लगाएको मुद्दा झुठा रहेको प्रहरीमा हाजिर हुनुअघि कान्तिपुर टेलिभिजनलाई जनाइन् । उनी आफ्ना समर्थक तथा नेकपा एमालेका नेताहरुसहित प्रहरी कार्यालय पुगेकी थिइन् ।

उपप्रमुख यादवका पति महेन्द्र भने फरार छन् । उपप्रमुख यादवलाई नियन्त्रणमा लिइएको र अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

यादव दम्पती भारतको बिहार राज्यअन्तर्गत सुपौल जिल्लाबासी रहेको र सप्तरीको तत्कालिन औरही गाउँ विकास समिति वडा नम्बर ३ बाट फर्जी कागजातको आधारमा नागरिकता लिएको आरोप छ । 

प्रकाशित:
2023/07/06, 12:16