वर्षातमा डेङ्गीको सङ्क्रमण वढ्यो,सर्तक रहन आग्रह

दार्चुलामा एक सय ८७ जना बिरामी
सुदूर प्रेस संवाददाता

धनगढी– नेपालमा डेङ्गीको सङ्क्रमण बढिरहेको छ । पानी परेसँगै डेङ्गीका बिरामी बढ्न थालेका हुन् । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा गोकर्ण दाहालले डेङ्गीका बिरामी बढ्न थालेका जानकारी दिनुभयो । 

उहाँले डेङ्गी बढ्ने मौसम शुरु भएकाले क्रमशः बिरामी पनि बढिरहेको बताउनुभयो । पानी परेसँगै पानी जम्ने र जमेको पानीमा लामखुट्टेका लार्भा बढ्न थालेका उहाँले बताउनु भयाे । 

उहाँका अनुसार सन् २०२३ यता अहिलेसम्म एक हजार २४ जना मानिस डेङ्गीका कारणले बिरामी परेका छन् । यो वर्ष अहिलेसम्म सङ्क्रमणबाट सुनसरीमा एक जनाको ज्यान गएको छ । 

महाशाखाका अनुसार काठमाण्डाै ४६, ललितपुरमा १२ र भक्तपुर ३५ जना बिरामी भेटिएका छन् । यस्तै, सबभन्दा बढी देखिएको दार्चुलामा एक सय ८७, धादिङमा एक सय ३१, सुनसरीमा ७५, कास्कीमा ६६ र म्यादीमा २९ जना डेङ्गीका बिरामी भेटिएका छन् ।

उहाँले बर्खायाम शुरु भएसँगै डेङ्गीबाट बच्न आग्रहसमेत गर्नुभयो । 'अहिले दैनिक पानी परिरहेको छ । परेको पानी फूलदानी, जारमा जम्मा हुन्छ अनि त्यहीँ लामखुट्टेले फुल पार्दछ', उहाँले भन्नुभयो, 'सफा पानीमा त्यही लार्भा बन्ने र मानिसलाई टोक्ने गर्दछ ।'

बस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा वयष्क भएर टोकेपछि डेङ्गी रोग लाग्दछ । डेङ्गीले उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने आदिजस्ता लक्षण देखा पर्दछन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गर्मीयामसँगै पानी पर्न थालेपछि लामखुट्टेका लार्भाको सङ्ख्या बढ्ने भएकाले डेङ्गी सङ्क्रमणबाट जोगिन आग्रह गरेको छ । लामखुट्टेबाट बच्नका लागि सधैँ झुल टाँगेर मात्र सुत्न, खेतबारीमा  काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्यालढोकामा जाली हाल्न अनुरोध गरिएको छ ।

यस्तै, मन्त्रालयले सम्भव भएसम्म लामखुट्टे भगाउने धुप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपक्षी व्यवस्थित ढङ्गले पाल्न र घरवरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न नदिन आग्रह गरेको छ ।

सन् २०२२ मा ५४ हजार छ सय ३० जनामा डेङ्गी देखिएको र डेङ्गीबाट ८८ जनाको ज्यान गइसकेको छ । पुस १५ गतेयता अहिलेसम्म सात सय एक जनामा डेङ्गीको सङ्क्रमण देखिएको छ । नेपालमा पहिलोपटक सन २००४ मा एक जनामा डेङ्गी देखिएको थियो । सन् २००५ मा भने डेङ्गीका बिरामी देखिएनन् । त्यसपछि सन् २००६ देखि डेङ्गीको सङ्क्रमण देखिँदै आएको छ ।

प्रकाशित:
2023/07/07, 7:20