डीएसपी कुटिए, घटना गुपचुप राख्ने प्रयास

सुदूर प्रेस संवाददाता

महोत्तरी–महोत्तरीको जलेश्वरमा प्रहरीका नायब उपरीक्षक (डीएसपी) कुटिएको घटना बाहिरिएको छ ।

जनकपुरस्थित महेन्द्र नारायण निधि मिथिला सांस्कृतिक प्रहरी गणमा कार्यरत प्रहरी नायब उपरीक्षक चन्देश्वर यादव जलेश्वर नगरपालिका-२ बसपार्क नजिक विद्यापति नगरमा बिहीबार राति करिब १० बजे कुटिएका हुन् । बिहीबार रातिको घटना प्रहरीले लुकाउन खोजेपनि ढिला गरी बाहिरिएको हो । स्थानीय बासिन्दाले दिएको जानकारीअनुसार बिहीबार राति अचानक होहल्ला सुनिएपछि घर बाहिर निस्किँदा रगतमा लतपतिएको अवस्थामा डीएसपी यादव भेटिएका थिए । उनले स्थानीयसामू आफूलाई बचाउन गुहार मागेका थिए ।

उनलाई ट्राफिक प्रहरीले उठाएर लगेको जलेश्वर नगरपालिका-२ का महन्थ साहले जनाए ।

होहल्ला भएपछि घटनास्थलभन्दा करिब एक सय मिटरको दूरीमा रहेको जलेश्वर ट्राफिक कार्यालयका प्रहरीले घाइते यादवको उद्धार गरेर जलेश्वर प्रादेशिक अस्पताल लगेको स्थानीयले जानकारी दिए । सिकिस्त घाइते यादवको खुट्टा भाचिएको छ ।

धनुषामा कार्यरत डीएसपी यादव राति १० बजे एक्लै जलेश्वरमा किन गएको र घट्ना के कारण भएको भन्ने विषयमा प्रहरीको कुनै पनि निकायले बोल्न मानेन ।

स्रोतकाअनुसार प्रदेश प्रहरीको टोलीले शनिबार घट्नास्थलको निरीक्षण गरेको छ । डीएसपी यादव केही महिना अगाडि महोत्तरीबाट सुरुवा भई धुनषा गएका थिए । 

प्रकाशित:
2023/07/23, 11:06