नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति ल्याउँदै

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज (आइतबार) मौद्रिक नीति ल्याउने तयारी गरेको छ । मौद्रिक नीति पारित गर्न आज बिहान राष्ट्र बैंक सञ्चालक समितिको बैठक बोलाइएको छ ।

यसपटक उत्पादनमूलक क्षेत्रमा कर्जा प्रवाह गर्ने गरि नीति ल्याइने राष्ट्र बैंकले जनाएको छ । गत बिहीबारको अर्थ समितिको बैठकमा पनि गभर्नर महाप्रसाद अधिकारीले मूल्यवृद्धि नियन्त्रण गर्ने र बाह्य क्षेत्र व्यवस्थापन हुने गरी चालु आर्थिक वर्षको मौद्रिक नीति जारी गरिने जनाएका थिए । तर अर्थतन्त्रमा आएको शिथिलता हटाई आर्थिक गतिविधि चलायामान बनाउनु, निष्क्रिय कर्जा र गैरव्यवसायिक गतिविधि बढिरहेको सन्दर्भमा वित्तीय स्थायित्व कायम राख्ने मुख्य चुनौती रहेको राष्ट्र बैंकको भनाइ छ ।

यता निजी क्षेत्रले सेयर बजारमा एक व्यक्तिले १२ करोडभन्दा बढी ऋण लिन नपाइने राष्ट्र बैंकको व्यवस्था खारेज गर्नुपर्ने, घरजग्गा, सेयर र सवारी साधनको कर्जामा लाग्दै आएको जोखिम भार १ सय ५० प्रतिशतलाई घटाएर १ सय प्रतिशतमात्रै कायम गर्नुपर्ने सुझाव दिँदै आएका छन् । राष्ट्र बैंकका पूर्वअधिकारीहरुले वित्तीय स्वार्थ समूहलाई फाइदा हुने गरी मौद्रिक नीति ल्याउन नहुने सुझाव दिएका छन् ।

नेपालमा हुँदै आएको वित्तीय पहुँचको दुरुपयोगमा कडाइ गरेर उत्पादनमूलक र रोजगारी सिर्जना गर्ने क्षेत्रमा नीति केन्द्रित हुनुपर्ने विज्ञको सुझाव छ । त्यस्तै निजी क्षेत्रका छाता संगठनहरुले कर्जाको पुनर्संरचना र पुनर्तालिकीकरण गर्न पाउनुपर्ने माग राखेका छन् । व्यवसायीहरुले सोधनान्तर तथा विदेशी मुद्राको सञ्चितिमा सुधार आएको हुँदा विस्तारकारी मौद्रिक नीति ल्याउनुपर्ने उनीहरुको सुझाव छ ।

प्रकाशित:
2023/07/23, 7:50