पेट्रोल र डिजेलको मूल्य बढ्यो, खाना पकाउने ग्यासको घट्यो

फाइल तस्बिर
सुदूर प्रेस संवाददाता

धनगढी– नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ । निगमले गएराति १२ बजेपछि लागू हुने गरी पेट्रोल लिटरमा ९ रुपैयाँ तथा डिजेल र मट्टीतेलमा लिटरमा सात रुपैयाँ बढाएको हो ।

खाना पकाउने एलपी ग्यासको मूल्य भने प्रतिसिलिण्डर एक सय ३० रुपैयाँ घटाएको छ । भारतबाट मूल्य बढेर आएका कारण बढाइएको आयल निगमले जानकारी दिएको छ ।

अब पेट्रोलको मूल्य प्रतिलिटर पहिलो वर्गमा एक सय ७०, दोस्रो वर्गमा एक सय ७२ र तेस्रो वर्गमा एक सय ७३ रुपैयाँ पुगेको छ ।

त्यस्तै डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गमा एक सय ५०, दोस्रोमा एक सय ५२ र तेस्रो वर्गमा एक सय ५३ रुपैयाँ कायम भएको छ ।

एलपी ग्यासको मूल्य भने प्रतिलिण्डिर एक हजार ६ सय ६० रुपैयाँमा झरेको छ ।

सरकारले यसै महिनादेखि पेट्रोलियम पदार्थको भाउमा स्वचालित मूल्य प्रणाली लागू गरेको छ । स्वचालित मूल्य प्रणाली अनुसार भारतबाट भाउ घटबढ भएर आउने बित्तिकै नेपालमा पनि घटबढ हुन्छ ।

प्रकाशित:
2023/08/02, 8:13