१० लाख मेट्रिक टन धान आयातका लागि भारतसँग नेपालले अनुमति माग्ने

सुदूर प्रेस संवाददाता

धनगढी– नेपालले सम्भावित खाद्य संकट टार्न थप १० लाख मेट्रिक टन धान आयातका लागि भारतसँग अनुमति माग्ने भएको छ ।

नेपालमा वार्षिक ५५ लाख टन धान उत्पादन हुने गरे पनि करिब १० लाख टन अपुग छ । यस वर्ष तराईमा रोपाई राम्रो हुन नसकेको र धानको उत्पादनमा असर पुग्ने देखेपछि सरकारले सजकता अपनाएको हो । धान निर्यातमा लगाएको प्रतिबन्ध फुकुवा गर्न र नेपालले खरिद गर्दै आएको कृषि उपजको कोटा बढाउन वाणिज्य मन्त्रालयले भारतसँग आग्रह गर्न लागेको हो ।

गत साता मुख्य सचिव वैकुण्ठ अर्यालको संयोजकत्वमा बसेको केन्द्रीय अनुगमन तथा मूल्याङ्कन समितिको बैठकमा खाद्यान्न व्यवस्थापनको विषयमा सबै उपाय अवलम्बन गर्नेबारे छलफल भएको थियो ।

कृषि तथा पशुपन्छी विकास मन्त्री वेदुराम भुसालले पनि गत बिहीबार धान चामलको निर्यात रोक्ने निर्णय लागू नगर्न नेपालस्थित भारतीय राजदूतलाई आग्रह गरेका थिए । दुई साताअघि भारतले धान चामलको निर्यातमा प्रतिबन्ध लगाएपछि व्यवसायीले आफूखुसी मूल्य बढाएका छन् ।

यता खाद्यान्न व्यवसायीले पनि धान, चामल, गहुँ, मकैलगायतका खाद्यान्न आयातमा सहजीकरण गरिदिन सरकारसँग आग्रह गर्दै आएका छन् ।

प्रकाशित:
2023/08/07, 7:50