नेम्वाङको निधनबाट प्रधानमन्त्री मर्माहत

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले संविधानसभाका अध्यक्ष तथा पूर्वसभामुख सुवास नेम्वाङको निधनले मर्माहत भएको बताएका छन् । महाराजगन्जस्थित शिक्षण अस्पतालमा मंगलबार बिहान पुगेर प्रधानमन्त्री दाहालले नेम्वाङप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेका छन् । 

संविधानसभाका अध्यक्ष नेम्वाङको पार्थिव शरीर केहीबेरपछि पार्टी केन्द्रीय कार्यालयमा लगिने एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले जानकारी दिए। नेम्वाङको पार्थिव शरीर आज दिनभर पार्टी कार्यालयमा राखिने र बुधबार अन्त्येष्टि गरिने जनाइएको छ ।

काठमाडौंको बालुवाटारस्थित आफ्नै निवासमा हृदयघात भएपछि अस्पताल लैजाने क्रममा सोमबार राति नेम्वाङको निधन भएको हो । एमाले उपाध्यक्षसमेत रहेका नेम्वाङ २०६४ साल र २०७० सालको दुवै संविधानसभाका अध्यक्ष थिए । उनी हाल इलाम-२ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद हुन् ।

प्रकाशित:
2023/09/12, 8:03