निर्मला पन्त हत्या प्रकरण : ६ वर्ष पूरा, दोषी कहिले पत्ता लाग्ला ?

सुदूर प्रेस संवाददाता

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका-२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज ६ वर्ष पूरा भएको छ । २०७५ साउन १० गते साथी रोशनी बमको घर गएकी बालिका निर्मला पन्तको शव त्यसको भोलिपल्ट बिहान सालघारीको खोला किनारमै उखुबारीमा फेला परेको थियो ।

घटनापछि दोषीलाई कारबाहीको माग राख्दै लामो  समयसम्म आन्दोलन नै भयो । जसले थप जनधनको समेत क्षति हुन पुग्यो । प्रहरीले घटनामा संलग्न भएको आशंकामा एक सयभन्दा बढी व्यक्तिहरूमा अनुसन्धान गर्‍यो । केहीलाई त थुनामै पनि राख्यो । 

तर पनि सरकारले घटनामा संलग्न अपराधीलाई अझैसम्म पनि पत्ता लगाउन सकेको छैन । निर्मलाको परिवारले अब अपराधी पत्ता लाग्ला भन्ने आश नै मारिसकेका छन् । तर पनि अहिलेका गृहमन्त्री रमेश लेखक कञ्चनपुरको सोही क्षेत्रबाट निर्वाचित जनप्रतिनिधि भएकोले निर्मलाको परिवारजनमा झिनो आशा पलाएको मृतक निर्मला पन्तकी आमा दुर्गादेवी पन्त बताउनुहुन्छ ।

१३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएपश्चात सडकदेखि सदनसम्म तात्यो । दोषीलाई कारबाहीको माग राख्दै भएको आन्दोलनमा अर्का बालक सन्नी खुनाले पनि अकालमै ज्यान गुमाउनु परेको थियो । केही व्यक्ति घाइतेसमेत हुनुभयो । तर अहिलेसम्म पनि अपराधी पत्ता नलाग्दा पीडित परिवारको न्याय नपाएको दुखेसो छ ।

बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको ६ वर्ष पूरा भइसक्दा समेत घटना अझै रहस्यमै रहेको छ । अझै वास्तविक अपराधी को भन्ने पत्ता लगाउन सकिएको छैन । घटनाबारे सूक्ष्म ढंगले विभिन्न कोणबाट प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

६ वर्षको यस अवधिमा बनेका सबै सरकारहरूले निर्मला पन्तको बलात्कार पछि हत्या प्रकरणमा अनुसन्धान गरी अपराधीलाई हदैसम्मको कारबाही गर्ने आश्वासन त दिएका छन् । तर अहिलेसम्म कुनै ठोस नतिजा भने देखिएन । 

दुई-दुई पटक नेपाल सरकारको उपप्रधान तथा गृहमन्त्री पद सम्हाल्दा रवि लामिछानेले निर्मला पन्तको हत्याबारे न्यायिक छानबिन गर्ने पहिलो निर्णय समेत गर्नुभएको थियो । उहाँले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीलाई पुनः अनुसन्धानमा समेत खटाउनु भएको थियो । सरकारबाट बाहिरिँदै गर्दा केही हप्ता अगाडि लामिछानेले अनुसन्धान नतिजा उन्मुख रही अन्तिम चरणको दाबी गरे पनि अहिलेसम्म नतिजा भने देखिएको छैन । 

अहिले गृहमन्त्री कञ्चनपुरकै लेखक हुनुहुन्छ । उहाँले आफ्नै निर्वाचन क्षेत्रको यो मुद्दालाई कसरी अगाडि बढाउनु भन्नेमा सबैको चासो रहेको छ । 

प्रकाशित:
2024/07/25, 6:57
SPA
KN
Priya Gahana Pasal