धनगढी–आज साउन महिनाको दोस्रो सोमबार, देशभरका विभिन्न शिब मन्दिरमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ । कैलालीको वेहडावावा,शिवपुरी र गोदावरीमा विहानै देखि दर्शनार्थीको घुइचो छ । पशुपतिनाथमा आज विहानै देखि भिड वढेको छ ।
साउन महिनाका प्रत्येक सोमबार व्रत बस्ने र शिव मन्दिरहरुमा दूध र जल चढाई पूजा गर्ने प्रचलन छ । यसरी पूजा गरेमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । साउने सोमबारलाई अत्यन्त शुभ मानिन्छ । यस वर्षको साउन महिनामा चार सोमबार परेका छन् । हरेक सोमबारमा व्रत बसेर महिला र पुरुषहरुले शिवको भक्तिपूर्वक पूजा गर्छन् ।
हरियो, पहेंलो र रातो पहिरनमा सजिएका व्रतालुको घुइँचो काठमाडौंको पशुपति, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, चितवनको देवघाट, खोटाङको हलेसीलगायतका स्थानमा देख्न सकिन्छ । गेरुवस्त्रधारी बोलबम यात्रीहरुको पनि शिवालयहरुमा उल्लेख्य संख्या हुन्छ । बोलबम यात्रीहरुले काठमाडौंको सुन्दरीजलबाट शुद्ध जल पैदल हिंडेर ल्याई पशुपतिमा चढाउने गर्दछन् ।