धनगढी– गण्डकीदेखि पश्चिम लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा रातिदेखि नै हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
बझाङको बउलीगाड नदी जलमापन केन्द्र र डोल्पाको ठूली भेरी त्रिपुराकोट जलमापन केन्द्रको जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्र र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम हुन सक्ने भएकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
आज दिउँसो कोशी, बागमती र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू-भागका धेरै ठाउँहरुमा तथा तराईका केही ठाउँहरुमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । गएराति पनि देशका धेरै ठाउँमा सामान्यदेखि मध्यम वर्षा भएको छ ।
केही दिन कमजोर रहेको मनसुनी वायु सक्रिय भएपछि अस्ति बेलुकीदेखि पानी पर्न थालेको हो । तर पर्याप्त वर्षा भने हुन सकेको छैन । मधेशको पर्सा, रौतहटलगायतका ठाउँमा पनि पानी परेको छ । तर धान खेतलाई हुने गरी अझै पानी परेको छैन ।