समयमै तलब निकासा हुनुपर्ने भन्दै आन्दोलनमा सुदूरपश्चिमका शिक्षक

शिक्षा कार्यालयहरूमा ताला
Teacher andolan
सुदूर प्रेस संवाददाता


धनगढी – सुदूरपश्चिम प्रदेशका शिक्षण सिकाई सहयोग अनुदानमा कार्यरत शिक्षकहरु आन्दोलनमा उत्रिएका छन्। समयमै तलब निकासा गर्नुपर्ने, अनुदानमा कार्यरत शिक्षकलाई विस्थापित गर्न नहुने, कार्यविधि अनुसार शिक्षक नियुक्त गर्नुपर्ने लगायतको माग राख्दै शिक्षकहरु आन्दोलनमा उत्रिएका हुन्। 

शिक्षण सिकाई सहयोग अनुदान शिक्षक समितिको विभिन्न इकाईले बुधबार शिक्षा विकास तथा समन्वय इकाई कञ्चनपुर, डडेल्धुरा र बिहिबार कैलाली प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका छन्।

सामुदायिक विद्यालयमा नेपाल सरकारबाट प्रदान गरिँदै आएको कोटाका लागि शैक्षिक शत्रको अघिल्लो असारमै एकमुष्ट रकम निकासा हुने गरेको थियो। तर, यो वर्ष दुई महिना बितिसक्दा पनि रकम निकासाको कुनै आधिकारिक जानकारीसम्म नआएकोले तालाबन्दी गरिएको समितिका संयोजक नन्दराम चौधरीले बताए। 

‘हरेक वर्ष असारमै एकमुष्ट निकासा हुने रकम अहिलेसम्म आएको छैन, गत महिना ज्ञापनपत्र पठाएका थियौं, मन्त्रालयले केही सुनुवाई गरेन त्यसकारण संघर्षमा उत्रिनु पर्‍यो’, चौधरीले भने, ‘एउटै विद्यालमा कार्यरत शिक्षकले तलब पाउने तर हाम्रो टुङ्गो छैन।’

विगतमा अनुदानमा कार्यरत शिक्षकहरुको तलब शिक्षा विकास तथा समन्वय इकाईमार्फत् हुने गरेको थियो। अहिले यो कार्यक्रम सम्बन्धित पालिकामार्फत चलिरहेको छ। कञ्चनपुरको कालिका माध्यामिक विद्यालयमा अध्यापन गराउँदै आएका कृष्णसिंह कुँवरले तलब नपाउँदा घरपरिवार धान्न मुस्किल भएको गुनासो गरे। 

‘तलब आउने नआउने टुङ्गो छैन, अन्य वैकल्पिक काम खोजौँ विद्यालयले अवकास दिएको छैन, हामी अन्यौलमा छौँ’, उनले भने। उनले रोगभन्दा भोकले मर्नुपर्ने अवस्था आउन लागेकोले संघर्षका कार्यक्रम गर्न बाध्य भएको बताए।

मावि र निमाविमा अनुदानमा कार्यरत शिक्षकहरु देशभरी नै ६ हजार बढी रहेका छन्। शिक्षण सिकाई सहयोग अनुदान शिक्षक समिति कञ्चनपुर संयोजक बलविर सिंहले भने, ‘आफुसँगैका शिक्षकले तलब पाएका छन्, हामीले पाएका छैनौँ।’

प्रकाशित:
2020/09/10, 5:51