बझाङमा चितुवाको छाला र हड्डीसहित पक्राउ परेकालाई अनुसन्धान नगरी छाडियो

बझाङ

बझाङ,२८ भदौ–बझाङमा चितुवाको दुईवटा छाला र हड्डीसहित प्रहरीले नियन्त्रणमा लिएका व्यक्तीलाई अनुसन्धान पूरा नगरी जमानतमा छोडिएको छ । चितुवाको छाला र हड्डीसहित पक्राउ परेका बुङगल नगरपालिका(६ का २७ वर्षीय हरजित बोहरा र २३ वर्षीय वीरेन्द्र बोहरालाई बुङगल–६ का वडा अध्यक्ष धनबहादुर सिंहको जिम्मामा छोडिएको हो । पक्राउ परेका मानिसहरुको अनुसन्धान पुरा नभएको भएपनि हड्डी र छालाको विधि विज्ञान परीक्षणका लागि काठमाडौं पठाउनु पर्ने र लकडाउनका कारण तत्काल त्यो सम्भव नभएकाले आवश्यक पर्दा हाजिर हुने गरी वडा अध्यक्षको जिम्मा लगाइ छाडिएको डिभिजन वन कार्यालयले जनाएको छ । ‘उहाँहरु अनुसन्धानकै क्रममा हुनुहुन्छ,’ सहायक वन अधिकृत मनोज ढकालले भने,‘कोरोनाका कारण तत्काल बरामद बस्तुको परीक्षण सम्भव नभएकाले सरकारी वकिल कार्यालयको राय अनुसार हामीले जमानतमा छोडेका हौं ।’

अधिकृत ढकालका अनुसार पक्राउ परेकाहरुले चितुवा आफैंले मारेको र अर्का एक जना मानिस पनि संलग्न रहेको स्विकार गरेका छन् ।

चितुवाको छाला र हड्डी बोकेर धनगढीतर्फ जाँदै गरेका उनीहरुलाई प्रहरीले बागथलाबाट नियन्त्रणमा लिएको थियो । उनीहरुको साथबाट २ थान चितुवाको छाला र ९ किलो हड्डी बरामद भएको थियो ।


प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिए लगतै सदरमुकाम आएका वडाध्यक्ष सिंहले उनीहरुलाई छुटाउनका लागि प्रहरी, सरकारी वकिल र डिभिजन वन कार्यालयका अधिकारीहरुसँग लविङ सुरु गरेका थिए । स्रोतका अनुसार उनले सदरमुकामस्थित एक होटलमा प्रहरी इन्सपेक्टरसँग एक जना कानुन व्यवसायीसहित राखेर उनीहरुलाई छुटाउन कुरामा मोलमोलाइ समेत गरेका थिए ।कान्तिपुर बाट

प्रकाशित:
2020/09/13, 7:41