व्यक्तिको नामबाट सार्वजनिक स्थानमा प्रतीक्षालय : कानुनी प्रक्रियामा जाने काँग्रेसको चेतावनी

Birodh

धनगढी, भदौ २८ – घोडाघोडी नगरपालिका – १ सुखडको सार्वजनिक स्थानमा प्रतीक्षालय निर्माण गर्न लागिएको भन्दै नेपाली काँग्रेसले आपत्ति जनाएको छ । सार्वजनिक स्थानमा निर्माण हुने यात्रु प्रतीक्षालयलाई नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचार गर्ने हेतुले मदन आश्रित नामाकरण गर्ने योजना बनाएकाले आपत्ति जनाएको नेपाली काँग्रेसले आइतबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।
सडकमा सार्वजनिक संरचनाहरू बनाउनु गैर कानुनी कुरा रहेको बताउँदै नेपाली काँग्रेसले नगरपालिकाले २५ मिटरको छेउछाउमा रहेका टहरा हटाउन पटक पटक आग्रह गरे पनि त्यहीँ नियम मिचेर नगर प्रमुख आफै गएर शिलान्यास गरी संरचना निर्माणमा लागेको बताएको छ ।

प्रहरी कार्यालयसँगै जोडिएको जग्गामा नेकपा नगर कमिटीले बिना सरसल्लाह नगरी एकलौटी ढङ्गले मदन आश्रित प्रतीक्षालय निर्माण गर्न लागेकोमा गम्भीर ध्यानाकर्षण भएको नेपाली काँग्रेस महासमिति सदस्य भीम बडूवालले जानकारी दिए । सडकमा सार्वजनिक संरचनाहरू बनाउनु गैर कानुनी कुरा हो । बडूवालले भने, ” नापी विभागले पुष्टि गरेको सुखड – लठुवा बाटोको नक्सामा प्रतीक्षालय निर्माणमा तत्काल नरोके कानुनी बाटो खोज्छौँ ।”

पटक पटक इलाका प्रहरी कार्यालय नगरपालिका ,जिल्ला प्रशासन कार्यालय कैलाली ,नापी विभाग कैलालीमा समेत निवेदन पेस गरी तत्काल रोक्न अनुरोध गर्दा पनि कहीँ कतैबाट सुनुवाइ नभएको नेपाली काँग्रेसले जनाएको छ ।

सार्वजनिक बाटो रहेको ठाउँमा कुनै पनि हालतमा सो प्रतीक्षालय एउटै पार्टीको विज्ञापन र प्रचारप्रसार गर्न उद्देश्यले निर्माण गरे नेपाली काँग्रेसले कानुनी बाटो रोज्ने जनाएको छ ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका नगर अध्यक्ष देवेन्द्र मल्लले राप्रपा विकास विरोधी नभए पनि सडक मिचेर मापदण्ड विपरीत प्रतीक्षालय निर्माण गरिरहेको हुँदा तत्काल रोक्नुपर्ने बताएका छन् । सार्वजनिक प्रतीक्षालय निर्माणको समर्थनमा रहे पनि व्यक्तिको नामबाट सार्वजनिक तथा सडक छेउमै प्रतीक्षालय निर्माण गर्न लागिएकोमा आफ्नो पार्टीको तर्फबाट घोर आपत्ति रहेको बताए ।

प्रकाशित:
2020/09/13, 7:30