आईपीएलमा सट्टा बाजी गरेको आरोपमा धनगढीबाट एक जना व्यापारी पक्राउ

 सट्टा बाजी गरेको आरोपमा पक्राउ परेका सञ्जीव गुप्ता
सुदूर प्रेस संवाददाता

धनगढी–इन्डियन प्रिमियर लिग (आईपीएल) मा सट्टा बाजी गरेको आरोपमा धनगढीबाट एक जना व्यापारी लाई प्रहरीले पक्राउ गरेको छ ।  धनगढी चटकपुरमा रहेको प्रीति ट्रेडिङ्ग एन्ड सप्लायर्सका सञ्चालक ३७ वर्षीय सञ्जीव गुप्ता लाइ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए । 
धनगढीका विभिन्न व्यक्तिलाई सट्टा बाजी खेल खेलाउने गरेको भन्ने गोप्य सूचनाका आधारमा उनलाई पक्राउ गरिएको विष्टले बताए ।  कुनै खेलाडी आउट भएमा, खेलाडीले रन बनाएमा, चौका छक्का भएमा, विकेट गएमा, टिमले जितेमा वा हारेमा समेत अनलाईन मार्फत रकम दाउमा लगाई ठुलो रकम लेनदेन गर्ने गरेको प्रहरीको भनाइ छ । 
उनको साथबाट सट्टा बाजी गर्न गराउन प्रयोग गरेका २ थान मोबाइल समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।  कैलाली जिल्ला अदालतबाट जुवा (सट्टा बाजी) मुद्दामा म्याद थप भई उनी माथि थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक विष्टले बताए । 

प्रकाशित:
2020/10/05, 10:20